काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भई आज स्वदेश फिर्ता भएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए। सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गरेका थिए। उनले मङ्गलबार सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी, मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरे।
राष्ट्रपति पौडेलले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए भने बुधबार कतार राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गरेका थिए। सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलो पटक भएको यस शिखर सम्मेलनमा वर्तमान विश्वले सामना गरिरहेको विकासको असमानता, जनसङ्ख्यामा असन्तुलन र प्रविधिको प्रभाव लगायतका विषयमा छलफल भएको थियो। नेपाल हाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेको छ।