काठमाडौँ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पार्टी परित्याग गरी 'प्रगतिशील अभियान नेपाल' नामक नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले यो घोषणा गरेका हुन्।
शर्मासँगै राम कार्की र अञ्जना विसंखे पनि यस अभियानमा सहभागी भएका छन्। शर्माले माओवादी आन्दोलनका बाँकी कार्यभार पूरा गर्दै वाम आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्ने उद्देश्यले अभियान अघि बढाएको बताए। उनले माओवादी आन्दोलनले बोकेका आदर्श, सहिदका बलिदान र जनआकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न नयाँ दिशा आवश्यक भएको धारणा राखे।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रति तीव्र असन्तुष्टि जनाउँदै शर्माले भने, "अध्यक्ष प्रचण्डले माओवादी पार्टी छाडेर माधवकुमार नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो। हामीले त्यो स्वीकार गरेका छैनौं। त्यसैले नयाँ ढंगले पुनर्गठनसहित प्रगतिशील अभियान अघि बढाउने अठोट गरेका छौं।"