काठमाडौँ।
काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिरक्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशील, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो।
मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको छ।
अब काठमाडौँको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित वाइफाइ सेवा उपलब्ध हुनेछ। साथै, काठमाडौँको ठूलोभर्याङ यातायात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ भने भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ स्थापनाको क्रममा रहेको मन्त्रालयले जनाएको छ।
निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीसँग सम्झौता गरिसकेका छन्। नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन्।
सञ्चारमन्त्री खरेलको विशेष सक्रियतामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो। प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ। ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ।