काठमाडौँ
झण्डै २० वर्षपछि पहिलोपटक जापानकी प्रधानमन्त्री सनेई तकाइचीले उत्तर कोरियाली नेता किम जोङ उन्सँग शिखर बैठक गर्न चाहेको घोषणा गरेकी छन्। उनले उत्तर कोरियाले दशकौँ अघि अपहरण गरेका जापानी नागरिकहरूको फर्काइका लागि आयोजित -यालीमा बोल्दै भनेकी थिइन्, “हामीले शिखर बैठकको चाहना उत्तर कोरियासमक्ष व्यक्त गरिसकेका छौं। म प्रत्यक्षरूपमा संवाद गरेर ठोस परिणाम ल्याउन चाहन्छु र मेरो कार्यकालमै यो अपहरण मुद्दा समाधान गर्ने दृढ संकल्प लिएकी छु।”
उत्तर कोरिया र जापानबीचको नागरिक अपहरण मुद्दा लामो समयदेखि विवादको विषय रहँदै आएको छ। सिएनएनका अनुसार, जापानले कम्तीमा १७ नागरिकहरूलाई १९७० र १९८० दशकमा उत्तर कोरियाली एजेन्टहरूले अपहरण गरेको बताएको छ, जस मध्ये पाँच जना सन् २००२ मा फर्काइएका थिए। सन् २०१४ को संयुक्त राष्ट्रसंघको प्रतिवेदनले यी अपहरणहरू उत्तर कोरियाको गुप्तचर कार्यक्रमको हिस्सा भएको संकेत गरेको थियो।
तर उत्तर कोरियाले जापानले बताएको सङ्ख्यालाई अस्वीकार गर्दै केही मानिसहरूको मृत्यु सडक दुर्घटना, डुबेर वा आत्महत्याबाट भएको दाबी गरेको छ। उत्तर कोरियाले यस मुद्दा समाप्त भइसकेको बताउँदै जापानका आरोपहरूलाई अस्वीकार गरेको छ। यसबीच, ताकाइचीले पदभार ग्रहण गरेपछि दुई पटक अपहृत व्यक्तिहरूका परिवारसँग भेट गरेकी छिन्, जसमा एकपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी भएका थिए।
ताकाइचीले आफ्ना गुरु पूर्व प्रधानमन्त्री शिन्जो आबेले सुरु गरेको अपहरण मुद्दा समाधान गर्ने अभियानलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। सन् २००२ मा जापानका तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइजुमीले उत्तर कोरियाको राजधानी प्योङयाङमा गएर किम जोङ इलसँग भेट गरेका थिए, जो अहिलेका नेता किम जोङ उनका पिता हुन्। यो पछिल्लो पहल दुई देशबीचको सम्बन्ध सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।