काठमाडौँ
नेपालले दुवईमा जारी आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा संयुक्त राज्य अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो।
नेपालका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले, जसमा उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे। उनले ४३ बलमै अर्धशतक पूरा गरेका थिए।
त्यस्तै, आठौं नम्बरमा आएका करण केसीले ३१ बलमा ४९ रन बनाए, जबकि कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन जोडे। अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिएका थिए।
नेपालले यस शृंखलामा खेलेका दुवै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग ५ विकेटले हार बेहोरेको थियो। नेपालले बाँकी दुवै खेल जित्नुपर्ने दबाबमा छ।