काठमाडौँ
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकाका कृषक समूहहरूलाई रेरास परियोजनाको सहयोगमा कृषि मेसिनरी सामाग्री वितरण गरिएको छ। ली–बर्डले आयोजना गरेको कार्यक्रममा कुल १७ वटा कृषि उपकरणहरू कृषक समूहहरूलाई हस्तान्तरण गरिएको हो। यस वितरणको उद्देश्य कृषि क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोग प्रवर्द्धन गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ बनाउनु रहेको बताइएको छ। यसले ग्रामीण कृषकहरूलाई आधुनिक उपकरणहरूको पहुँच उपलब्ध गराउने प्रयासको रूपमा लिइएको छ।
जगन्नाथ गाउँपालिकाका कृषकहरूलाई ६ वटा विद्युतिय मल्टीक्रप थ्रेसर र १ वटा कम्बाइन राइस मिल प्रदान गरिएको छ, जबकि स्वामिकार्तिक खापर गाउँपालिकाका कृषकहरूलाई ६ वटा मल्टीक्रप थ्रेसर, २ वटा पिसानी मिल र २ वटा कम्बाइन राइस मिल वितरण गरिएको हो। यी सबै उपकरणहरूले धान, गहुँ, कोदो लगायतका अन्नहरूको प्रशोधन कार्यलाई छिटो र सहज बनाउने अपेक्षा गरिएको छ। रेरास परियोजनाले ८० प्रतिशत लागत अनुदानस्वरूप प्रदान गरेकोले कृषकहरूलाई आर्थिक रूपमा राहत पुगेको छ।
सामाग्री वितरणसँगै मेसिन सञ्चालन गर्ने कृषकहरूलाई प्राविधिक तालिम पनि प्रदान गरिएको छ। तालिममा मेसिन फिटिङ, सञ्चालन र मर्मतसम्भारसम्बन्धी सीप सिखाइएको थियो, जसले उपकरणहरूको दक्ष प्रयोग र दीर्घकालीन स्थायित्वमा सहयोग गर्ने बताइएको छ। ली–बर्डका क्लष्टर संयोजक लोकेश कुमार थापाका अनुसार तालिमका माध्यमबाट कृषकहरू आधुनिक प्रविधि प्रयोगमा अझ सशक्त बन्नेछन्।
यस परियोजना नर्वेजियन राजदूतावास र संयुक्त राष्ट्र विकास कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले कृषि उपकरण वितरणले किसानहरूलाई आत्मनिर्भर र आधुनिक कृषि अभ्यासतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। उनले कृषकहरूलाई उपकरणहरूको सही सदुपयोग गरी उत्पादन वृद्धि र श्रम लागत घटाउने दिशामा ध्यान दिन आग्रह गरेका छन्। यो पहलले बाजुराको कृषिक्षेत्रमा दीर्घकालीन रुपान्तरण ल्याउने अपेक्षा गरिएको छ।