काठमाडौँ
राष्ट्रपति कार्यालयको तर्फबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा देश र जनतामाथि अनिष्ट कम गर्न क्षमा पूजा र रुद्राविशेष कार्यक्रम आयोजना गरिएको छ। जीवित देवी कुमारीले भीमेश्वरको सिलामा पसिना आएको तर कोहीले त्यसप्रति ध्यान नदिई पूजा नगरेका कारण राष्ट्रमा अनिष्ट भइरहेको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएपछि कार्यक्रम सञ्चालन गरिएको हो।
भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठका अनुसार, सिलामा पसिना आउनेबित्तिकै राष्ट्र प्रमुखको तर्फबाट बलि पूजा र क्षमा पूजा गर्ने परम्परा रहेको छ। तर यस पटक कोरा पूजासहित क्षमा पूजा र रुद्राविशेष मात्रै गरिएको छ। यसले परम्परागत विधि र समयअनुसार पूजाको महत्वलाई दर्शाउँछ।
राष्ट्रपति कार्यालयको तर्फबाट उपसचिव इश्वरीप्रसाद पाण्डे, सहायक स्वकीय सचिव सुशील तिमल्सिना र काठमाडौँस्थित कुमारी घरका अध्यक्ष गौतम शाक्य सहितको टोली मन्दिर पुगेर पूजामा सहभागी भएका थिए। पूजामा दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सुरक्षाकर्मीहरू पनि उपस्थित थिए।
क्षमा पूजा व्यवस्थापनमा भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर गुठीका अध्यक्ष भरत श्रेष्ठलगायत गुठियारहरूको सक्रिय सहभागिता रहेको थियो। परम्पराअनुसार सिलामा पसिनालाई पुछिएको कपासलाई ‘महा प्रसाद’को रूपमा राष्ट्रपतिलाई पठाउने गरिन्छ र कालो बोकाको बलिसहित क्षमा पूजा गरिन्छ। यस पटक पूजामा ढिलाइ हुनुको कारणले जीवित देवी कुमारीले राष्ट्रमा अनिष्ट भइरहेको जानकारी गराएपछि मात्र कार्यक्रम सञ्चालन गरिएको हो।