काठमाडौँ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा संसद भवनमा भएको आगलागीका बेला फेसबुक लाइभ गर्दै अभद्र र उत्तेजक शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि पूर्व फुटबल खेलाडी, कमेन्टेटर तथा कार्यक्रम उत्पादक अमनप्रताप अधिकारी विवादमा तानिएका छन्।
जेनजी आन्दोलनका बेला उनले आफैंले आफ्नो फेसबुकमा राखेको उक्त भिडियो अहिले एकाएक चर्चामा आएपछि उनको प्रस्तुति र शब्द चयनका कारण आलोचना भएको हो। संसद भवन जलिरहेको पृष्ठभूमि रहेको भिडियोमा अधिकारीले नेताहरूलाई अपाच्य शब्द प्रयोग गर्दै गाली गरेका छन्। उनले 'सकियो हेर त्यहाँ तेरो देश, सकियो तेरो राज्य…' भन्दै आक्रोश पोखेका छन्। भिडियोको क्याप्सनमा उनले 'दिस इज हाउ संसद भवन वाज टेकन डाउन' लेखेका छन्।
प्रख्यात गीतकार तथा कवि दिवंगत क्षेत्रप्रताप अधिकारीका छोरा समेत रहेका उनीबाट त्यस्तो व्यवहार भएको भन्दै धेरैले चित्त दुखाएका छन् र सामाजिक सञ्जालमा 'देशद्रोही' भन्दै तिखो आलोचना समेत गरेका छन्।
नेपालका पूर्व ए डिभिजन फुटबल खेलाडी, कमेन्टेटर र टेलिभिजन प्रस्तोता रहेका अधिकारीले 'हिमालयन रोडिज' लगायतका रियालिटी शो सञ्चालन गरेका थिए। 'द पोयट आइडल'का परिकल्पनाकार र निर्देशक पनि रहेका उनले यस विवादबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। संसद भवनमा आगजनीका बेला गरिएको उनको भिडियो र भाषाशैलीले सार्वजनिक छवि र सांस्कृतिक भूमिकासँग असंगत प्रतिक्रिया सिर्जना गरेको छ।