काठमाडौँ।
शनिबारदेखि सुरु भएको तिहार पर्व मनाउन करिब छ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार, यसपटक तिहारको बिदा लामो भएकाले उपत्यका छोड्ने यात्रुहरूको संख्या अघिल्ला वर्षभन्दा उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको हो।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारका यात्रुहरूका लागि सहज यातायात व्यवस्था मिलाइएको जानकारी दिए। उनले भने, “यसपटक दसैँमा भारी वर्षाका कारण धेरै यात्रुले सास्ती बेहोर्नुपरेको थियो, तर अहिले राजमार्गहरू सुधार भइसकेका छन्। अब घर फर्किने यात्रुले समस्या भोग्नु पर्ने छैन।”
सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पनि देशभरका मुख्य राजमार्गहरू मर्मत र सुधारपछि सामान्य अवस्थामा सञ्चालनमा आएको बताए।
उनका अनुसार, दसैँको समयमा बाढीपहिरोका कारण क्षतिग्रस्त मेची राजमार्गको माईखोला खण्ड शनिबारदेखि सञ्चालनमा आएको छ।
“अब राष्ट्रिय राजमार्गमा कुनै ठूलो समस्या छैन,” दाहालले भने, “यात्राका क्रममा सुक्खा पहिरो वा आकस्मिक अवरोध आएमा तत्काल सडक सञ्चालन गर्न विभागका टोलीहरू तयारी अवस्थामा छन्।”
तिहारका लागि उपत्यका छोड्ने यात्रुहरूको चाप बढेसँगै काठमाडौंका प्रमुख बसपार्कहरू नयाँ बसपार्क, कोटेश्वर, कलंकी र बल्खुमा यात्रुहरूको भीड देखिन थालेको छ।