काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)भित्र नेतृत्वलाई लिएर विवाद थप गहिरिएको छ। असोज २४ गते गुन्डुमा बसेको सचिवालय बैठकमा नेताहरूले पार्टी पुनर्गठनको प्रस्ताव उठाउँदै अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।
स्रोतका अनुसार, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको राजीनामा माग गर्दै अब पार्टी उनको नेतृत्वमा अगाडि नचल्ने स्पष्ट धारणा व्यक्त गरेकी छन्। उनले पुराना नेताहरूले पार्टीबाट बिदा लिनुपर्ने आवश्यकतामा जोड दिइन्।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी पुनर्गठन अपरिहार्य रहेको भन्दै यसमा सहमति जनाए। उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पनि ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने सुझाव दिएको बताइएको छ।
सचिवालय बैठक शनिबार पनि जारी रहनेछ। आगामी बैठकमा पार्टीको महाधिवेशन मिति प्रस्ताव गर्ने सम्भावना रहेको छ।
यो विवादले एमालेको आन्तरिक राजनीतिमा थप उथलपुथल ल्याउने संकेत देखिएको छ।