काठमाडौँ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन सडक खण्डमा ठाउँठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। विशेषगरी जवाङ खोलासहित केही स्थानमा ठूला पहिरो खसेकाले सवारी साधन पठाउन नसकिने भन्दै नागढुंगा चेकपोस्टबाट ट्राफिक प्रहरीले माइकिङ गर्दै गाडीहरू काठमाडौंतर्फ नै फर्काइरहेका छन्।
हालसम्म २५० वटा भन्दा बढी गाडीहरू फिर्ता पठाइएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले यताबाट कुनै पनि गाडीलाई मुग्लिनतर्फ जान दिएका छैनन्।
ट्राफिक प्रहरीले माइकिङमार्फत् यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी गराउँदै पहिरोको जोखिम कायमै रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न आग्रह गरिरहेको छ। सडक खुलाउने प्रयास भइरहे पनि वर्षा जारी रहेकाले काममा कठिनाइ भइरहेको बताइएको छ। सेतोपाटी