काठमाडौँ ।
हेटौंडा-काठमाडौँ जोड्ने दुई प्रमुख सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै यो जानकारी दिएका हुन्।
जल तथा मौसम विभागको पूर्वानुमानअनुसार असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।
रोक लगाइएका सडक र समय:
कान्तिलोकपथ: आजदेखि असोज २० गतेसम्म बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म।
हेटौँडा–भैँसे–काठमाडौँ सडक: आजदेखि असोज २० गतेसम्म बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म।
प्रजिअ श्रेष्ठले अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेका छन्। साथै, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन र विपद् पूर्वतयारी तथा प्रतिकार्यमा जुट्न आग्रह गरिएको छ।