काठमाडौँ।
काठमाडौँ महानगरपालिकाले डेङ्गी रोगको सङ्क्रमण कायमै रहेकाले नगरवासीलाई सचेत रहन आग्रह गरेको छ। महानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने कामलाई जोडतोडका साथ अगाडि बढाएको छ।
महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकल पर्सन’ ऋषिप्रसाद भुषालका अनुसार, सबै वडा र समुदायस्तरमा सञ्चालित यस अभियानमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र स्थानीयवासीको सहभागिता रहेको छ। गत वर्षहरूको सङ्क्रमण विश्लेषणका आधारमा मृत्युदर न्यूनीकरण र नियन्त्रणका लागि अधिकतम प्रयास भइरहेको उनले बताए।
काठमाडौँ महानगरमा पहिलो पटक २०७५ सालमा चमती क्षेत्रमा डेङ्गी सङ्क्रमण देखिएको थियो। सामान्यतया बर्खायाममा देखिने यो रोगको सङ्क्रमण दर भदौ, असोज र कात्तिक महिनामा बढी देखिने गरेको महानगरपालिकाले जनाएको छ।
डेङ्गी सङ्क्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ। नेपालमा २०६१ सालदेखि डेङ्गीको समस्या देखिन थालेको हो। महानगरपालिकाभित्र सन् २०२२ मा २,९७३ जनामा, २०२३ मा ६४३ जनामा, २०२४ मा २,०८४ जनामा र यस वर्षको पुसदेखि अहिलेसम्म २४८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ।
पानी जम्ने सडक तथा सडकपेटीका खाल्टाखुल्टी, करेसाबारीमा राखिने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायतका स्थानमा लामखुट्टेको बासस्थान हुने भएकाले त्यसतर्फ सावधानी अपनाई डेङ्गी सङ्क्रमणबाट जोगिन सबैलाई अनुरोध गरिएको छ।
आम नागरिकका स्वास्थ्यसम्बन्धी गुनासा, जिज्ञासा सुन्न र प्रारम्भिक परामर्शका लागि काठमाडौँ महानगरपालिकाले ११८० नम्बरको निःशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ।