काठमाडौँ।
बडादशैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। दशैँ सुरु भएसँगै पहिराका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडकमा आज भने निर्वाद रूपमा सवारीसाधन सञ्चालनमा छन्।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले हिजोअस्तिको तुलनामा सवारीसाधनको चाप कम रहेको र कुनै अवरोध नरहेको जानकारी दिए। उनका अनुसार दशैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिनेगरी काम गरिरहेका छन्।
मङ्गलबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै ८ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालनमा आएको थियो। गएरातिसम्म सवारीसाधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ। तुइन खोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन्।