काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपालले वर्तमान सरकारले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओली को राहदानी रोक्ने निर्णय गरेकोमा गम्भीर आपत्ति प्रकट गरेको छ। संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदम लोकतान्त्रिक मूल्य-मान्यताको उल्लंघन र राजनीतिक प्रतिशोधको अभिव्यक्ति भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, "कुनै आधार र प्रमाणबिना २०८२ भदौ २२ र २४ गतेका घटनालाई कारण देखाई गरिएको यो कदम असंवैधानिक र न्यायविरुद्ध छ।" युवा संघले ओलीको राहदानी रोक्ने कार्यले पूर्वप्रधानमन्त्रीलाई अपराधी ठहर गर्ने प्रयास भएको आरोप लगाउँदै तत्काल निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ।
संघले ओलीको राजनीतिक जीवन र योगदानलाई अवमूल्यन गर्ने तथा जनताको अधिकारमाथि आघात गर्ने यस्ता गतिविधि आफूहरूलाई स्वीकार्य नहुने स्पष्ट पारेको छ।
त्यस्तै, युवा संघले एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि पनि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउन लागेको आरोप लगाएको छ।
युवा संघले लोकतान्त्रिक अभ्यास र संविधानले दिएको मौलिक अधिकारको रक्षा गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिँदै, राजनीतिक प्रतिशोधका आधारमा गरिएका यस्ता कारबाहीले जनविश्वास कमजोर बनाउने चेतावनी दिएको छ। संघले सरकारलाई यस्ता कार्यहरू तत्काल रोकी निष्पक्ष र न्यायपूर्ण व्यवहार गर्न आग्रह गरेको छ।