काठमाडौँ।
ललितपुरस्थित नख्खु कारागारले जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते फरार भएका कैदीबन्दीहरूलाई फर्किएर आउन आग्रह गरेको छ। कारागार प्रशासनले एक सूचना जारी गर्दै तोकिएको समयभित्र नफर्किए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
कारागार प्रमुख सत्यराज जोशीका अनुसार, जेनजी प्रदर्शनका बेला विभिन्न मुद्दामा दोषी ठहर भई कारागारमा रहेका कुल १ हजार २८० कैदीबन्दी फरार भएका थिए। तीमध्ये हालसम्म ५८७ जना फर्किसकेका छन्। फरारमध्ये करिब ५० जना देशभरका अन्य कारागारमा रहेको जानकारी प्राप्त भएको जोशीले बताए।
"करिब ६५१ जना अझै फरार छन्," जोशीले भने। यसअघि भदौ २६ गते पनि कैदीबन्दीलाई फर्की आउन सार्वजनिक अपिल गरिएको थियो। "पछि कारागार व्यवस्थापन विभागबाट यही असोज १० गतेको फरार कैदीबन्दी खोजी तथा पक्राउ अभियान सञ्चालन गर्न परिपत्र गरिएअनुसार सम्पर्कमा आउने भनेका छौँ," उनले थपे।
विभागले तोकेअनुसार असोज २० गते सोमबारसम्म कारागार नफर्किएमा कारागार ऐन, २०७९ लगायत अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराइएको छ। कारागार प्रशासनले फरार कैदीबन्दीहरूलाई यथाशीघ्र सम्पर्कमा आउन र कानुनको पालना गर्न आग्रह गरेको छ।