काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना निवर्तमान सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ। पार्टी प्रवक्ता मनिष झाले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीका २१ निवर्तमान सांसदहरूलाई यो अनुरोध गरेका हुन्।
प्रवक्ता झाका अनुसार, "पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ।"
यसैगरी, रास्वपाले चाडपर्वका दौरान पार्टीका सबै तहका नेताहरूलाई शुभकामना पत्रहरूबाहेक कुनै पनि किसिमको उपहार स्वीकार नगर्न निर्देशन दिएको छ।
पार्टीले जेनजी आन्दोलनका क्रममा ७५ जनाको मृत्यु भई देश शोकमा रहेकाले यसपटक पार्टीको ब्यानर र झन्डा प्रयोग गरेर कुनै पनि किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न पनि सबै तहका पार्टी सदस्यहरूलाई अनुरोध गरेको छ। यो निर्णयले आन्दोलनका मृतकहरूप्रति सम्मान र संवेदनशीलता देखाएको छ।