काठमाडौँ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो राजनीतिक जीवनको अनुभव सुनाउँदै वर्तमान जेनजी आन्दोलनका अगुवाहरूलाई महत्वपूर्ण सन्देश दिएका छन्। उनले राजनीतिमा वचनभन्दा लिखतको महत्व र शंकासहितको विश्वास आवश्यक रहेकोमा जोड दिएका छन्।
भट्टराईले २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता मदन भण्डारी र जीवराज आश्रितको निधनपछि मुलुकभर फैलिएको आक्रोश र त्यसपछिको आन्दोलनको स्मरण गरे। सोही आन्दोलनका क्रममा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र आफू (भट्टराई) आन्दोलनकारी पक्षबाट सरकारसँग वार्तामा सहभागी भएको बताए। सरकारको तर्फबाट कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) वार्तामा आएका थिए।
लामो रस्साकस्सीपछि धेरै विषयमा सहमति भए पनि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको राजीनामाको विषय निकै टड्कारो रहेको भट्टराईले बताए। अन्ततः किसुनजीले “भदौ ३० गतेसम्म राजीनामा हुन्छ, मेरो वचन” भनेपछि आन्दोलनकारी पक्षले सहमति जनाएको थियो।
तर, तोकिएको मितिमा प्रधानमन्त्रीले राजीनामा नगरेको र किसुनजीले आफूले त्यस्तो आश्वासन नै नदिएको दाबी गरेको उल्लेख गर्दै भट्टराईले भने, ‘सबै फासफूस भयो। राजनीतिमा वचनभन्दा पनि लिखत जरुरी रहेछ। राजनीति धेरै निर्मम हुन्छ। निरपेक्ष विश्वास होइन, शंकासहितको विश्वास गर्नुपर्छ।’
भट्टराईले यो घटनाबाट सिकाइ जेनजी अभियानका अगुवाहरूलाई समेत भएको बताए। ‘अहिले नयाँ इतिहास बनाइरहेका जेनजी अभियन्ताहरूले पनि यो पाठ सम्झनुपर्छ,’ उनले जोड दिए। उनको यो सन्देशले वर्तमान आन्दोलनका अगुवाहरूलाई वार्ता र सहमतिका क्रममा थप सचेत रहन प्रेरित गर्ने देखिन्छ।