काठमाडौँ।
सरकारले राजनीतिक तथा प्रशासनिक ओहोदामा रहेर जिम्मेवारीबाट बिदा भएपछि पनि कानुनविपरीत प्रयोग गरिरहेका गाडीलगायतका सुविधाहरू फिर्ता मागेको छ। पूर्वनेता तथा प्रशासनिक पदाधिकारीहरूसँग कानुनबमोजिम रहेका बाहेकका गाडी र सुरक्षाकर्मी फिर्ता मागिएको हो।
अर्थ मन्त्रालयले शुक्रबार पत्राचार गर्दै कानुनबमोजिम बाहेक उपलब्ध गराइएका सवारीसाधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्ने तथा अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न गृह र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले यसको जानकारी गराएका छन्।
गृह मन्त्रलय र रक्षा मन्त्रालयले यसैअनुसार प्रयोग भइरहेका सवारीसाधन फिर्ता गर्न तथा सुरक्षाकर्मी फिर्ता पठाइदिन पूर्वपदाधिकारीहरूलाई पत्राचार गरिसकेका छन्। पत्राचारमा पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान गरिने व्यहोरा स्पष्ट पारिएको छ।
मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नका लागि सवारीसाधन तथा सुविधा फिर्ताका लागि यो पत्राचार गरिएको अर्थ मन्त्रालयले जनाएको छ। यस कदमले राज्यको स्रोतको दुरुपयोग रोक्न र कानुनको पालना सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।