काठमाडौँ।
जेनजी आन्दोलनको प्रभावस्वरूप सरकारबाट बाहिरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा वैकल्पिक नेतृत्वको बहस चर्किएको छ। अन्य दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयले प्राथमिकता पाएपछि एमालेलाई पनि नेतृत्व हस्तान्तरणको बाध्यता आइपरेको छ।
अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई कुनै पनि हालतमा नेतृत्व हस्तान्तरण नगर्न एउटा समूहले दबाब दिइरहेको भए पनि तिहारसम्ममा एमालेले महिला संयोजक पाउने सम्भावना बढेको छ। दशैंलगत्तै पार्टीको केन्द्रीय समिति बैठकबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई संयोजक बनाएर महाधिवेशनमा जाने सम्भावना बढेको स्रोतले जनाएको छ।
जेनजी आन्दोलनको दबाबस्वरूप नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बाट बाबुराम भट्टराईले राजीनामा दिइसकेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पनि केन्द्रीय कमिटी भंग गरी महाधिवेशन आयोजक कमिटी बनाइसकेको छ। यसरी नेतृत्व हस्तान्तरणको दबाब बढ्दै गर्दा एमालेमा पनि हस्तान्तरणको गृहकार्य गर्नुपर्ने अवस्थामा पुगेको बताइएको छ।
जेनजी आन्दोलनको दोस्रो दिन प्रधानमन्त्रीबाट राजीनामा दिएका अध्यक्ष केपी शर्मा ओली असोज २ गते नेपाली सेना को सुरक्षाबाट फिर्ता भए पनि सार्वजनिक रूपमा नेतृत्व हस्तान्तरणको विषयमा बोलेका छैनन्। यद्यपि, ओलीले पार्टीका सबै तहका नेताहरूसँग अलगअलग भेटघाट र छलफल गरिरहेका छन्। यसले पार्टीभित्रको आन्तरिक समीकरण र भावी नेतृत्वबारेको छलफललाई थप तीव्र बनाएको छ। राजधानी दैनिकबाट