काठमाडौँ।
विश्व इतिहासका पाना पल्टाउँदा आजको दिन विभिन्न महत्त्वपूर्ण घटनाहरूले भरिएको पाइन्छ। यहाँ केही प्रमुख घटनाहरूको सारसंक्षेप प्रस्तुत गरिएको छ:
सन् १९५९: जापानमा टाइफुन भेराको कहर, ५ हजारको ज्यान गयो
आजकै दिन सन् १९५९ मा जापानमा आएको शक्तिशाली टाइफुन 'भेरा' ले ५ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो। इतिहासमा अभिलेखीकृत शक्तिशाली टाइफुनमध्ये एक मानिने यसले वर्षा र भूस्खलनका कारण ठूलो जनधनको क्षति पुर्याएको थियो।
सन् १९१४: अमेरिकामा फेडेरल ट्रेड कमिसनको स्थापना
संयुक्त राज्य अमेरिकामा आजकै दिन सन् १९१४ मा फेडेरल ट्रेड कमिसन (FTC) स्थापना भएको थियो। फेडेरल कमिसन ऐनअनुसार स्थापित यस संस्थाले उपभोक्ता र बजार सुरक्षाको नियमन गर्ने कार्य गर्दछ।
सन् १७८६: अमेरिकामा पहिलो सशस्त्र विद्रोह
सन् १७८६ मा अमेरिकामा पीडित ऋणीहरूलाई जेलमा हालिएको विरोधमा पहिलो सशस्त्र विद्रोह भएको थियो। म्यासाचुसेट्सको स्प्रिङफिल्डस्थित अदालत नै विद्रोहीहरूले बन्द गरिदिएका थिए। ड्यानियल सेजको नेतृत्वमा भएको यो विद्रोह रक्तपातपूर्ण संघर्षपछि सरकारले दमन गरेको थियो।
सन् २०२०: अस्ट्रेलियामा ३५० ह्वेलको सामूहिक मृत्यु
अस्ट्रेलियाको तस्मानिया राज्यको म्याकक्वेरी हार्बरमा सन् २०२० मा फसेका ३५० ह्वेल सामूहिक रूपमा मरेका थिए। हार्बरमा फसेकामध्ये १०८ वटा मात्र बचाउन सकिएको थियो। एकसाथ ठूलो संख्यामा ह्वेलहरू एकै ठाउँमा जम्मा हुँदा उक्त दुःखद घटना भएको थियो।
सन् २००९: शक्तिशाली तुफान केत्सानाको विनाश, ७०० को ज्यान गयो
सन् २००९ मा आजकै दिन फिलिपिन्स, चीन, भियतनाम, कम्बोडिया, लाओस र थाइल्यान्डमा आएको समुद्री तुफान 'केत्साना' ले यी सबै देशमा गरी ७०० जनाको ज्यान लिएको थियो।
सन् २०२४: अर्जेन्टिनाको आधा जनसंख्या गरिबीको चपेटामा
सन् २०२४ मा प्रकाशित नयाँ आँकडाअनुसार दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाको आधा जनसंख्या गरिब बनेको उल्लेख थियो। ४ करोड ६० लाख जनसंख्या रहेको त्यहाँ गरिबी दर ४१.७ प्रतिशतले बढेर ५२.९ प्रतिशत जनसंख्या नै गरिब बनेको उक्त आँकडामा उल्लेख थियो। त्यतिबेला त्यहाँको मुद्रास्फीति दर २३० प्रतिशत थियो।
सन् २०२४: अमेरिकामा समुद्री तुफान हेलेनले २५० को ज्यान लियो
सन् २०२४ मा अमेरिकाका १० वटा राज्यमा समुद्री तुफान 'हेलेन' ले २५० जनाको ज्यान लिएको थियो। त्यसबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको थियो।
सन् २०२२: अमेरिकी जासुस स्नोडेनलाई रुसको नागरिकता
सन् २०२२ मा अमेरिकाका जासुसी ठेकेदार एडवार्ड स्नोडेनलाई रुसले नागरिकता दिएको थियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै उनलाई मस्कोमा नागरिकता प्रदान गरेका थिए।