काठमाडौँ।
संविधान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरेको थियो। अध्यक्ष खड्गप्रसाद शर्मा ओली सार्वजनिक हुने भनिए पनि अन्तिम क्षणमा उनी कार्यक्रममा उपस्थित भएनन्।
ओलीको उपस्थिति हुने अपेक्षाका साथ पार्टी कार्यालय वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको थियो। तथापि, उनको अनुपस्थितिपछि कार्यक्रम वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेललगायतका शीर्ष नेताहरूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी थिइन्।
कार्यक्रममा संविधान दिवसको महत्व र यसले ल्याएको राजनीतिक परिवर्तनबारे चर्चा गरिएको थियो। ओलीको अनुपस्थितिबारे भने कुनै आधिकारिक जानकारी दिइएको छैन।