काठमाडौँ ।
सोमबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले शपथ लिएका हुन्।
शपथग्रहण समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको उपस्थिति भने उल्लेखनीय रह्यो। प्रधानमन्त्रीको शपथग्रहणमा नदेखिएका दाहाल मन्त्रीहरूको शपथमा उपस्थित भएका हुन्। प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा क्रियाशील रहेकाले उनको पद यथावत छ।
यद्यपि, सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर दुवै समारोहमा अनुपस्थित रहे। जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीको शपथग्रहण र मन्त्रीहरूको शपथग्रहण दुवैमा उनीहरूको अनुपस्थिति देखिएको हो। प्रतिनिधिसभा विघटन भए पनि सभामुख र उपसभामुखको पद प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारहरूको मनोनयनको दिनसम्म यथावत रहने संवैधानिक व्यवस्था छ।