काठमाडौँ ।
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रूप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालकहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र अपेनसहितका चार प्रमुख संगठनहरूले विधेयकमा प्रस्तावित निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधानको चर्को विरोध गरेका हुन्।
मंगलबार माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले ‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सरकारको तयारीप्रति आपत्ति जनाए।
आन्दोलनरत संगठनहरूले ५ बुँदे माग अघि सारेका छन्, जसमा कम्पनी ऐनअन्तर्गत सञ्चालित विद्यालयलाई गैरनाफामूलक बनाउने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक र स्टेसनरी जस्ता सामग्री उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने र छात्रवृत्ति छनोट तथा वितरणको अधिकार विद्यालयलाई नै दिनुपर्ने मुख्य मागहरू छन्।
एकातिर निजी विद्यालयहरू सडकमा छन् भने अर्कोतिर संसदको शिक्षा समितिले विधेयकका विवादित विषयमा सहमति जुटाइसकेको छ। समितिले निजी विद्यालयलाई चरणबद्ध रूपमा गैरनाफामूलक बनाउने र विद्यार्थी संख्याको आधारमा १० देखि १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्नेमा सहमति गरेको छ।
आन्दोलनरत संगठनहरूले भने आफ्ना मागहरू सम्बोधन नगरिए आगामी भदौ ८ गतेदेखि निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।