काठमाडौँ।
नेपाल प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)निकट पूर्वजनमुक्ति सेनाका सदस्य मंगलसिंह प्रजालाई पक्राउ गरेको छ। उनलाई सामाजिक सञ्जालमा कानुनले बर्जित सामग्री प्रकाशन गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार काठमाडौंको बानेश्वरबाट नियन्त्रणमा लिएको हो।
साइबर ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले प्रजालाई सामाजिक सञ्जालमा कानुनविपरीतका सामग्री राखेको आरोपमा पक्राउ गरिएको पुष्टि गरे। उनका अनुसार, प्रजामाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान अघि बढाइनेछ।
यद्यपि, उनले कस्तो प्रकृतिको सामग्री पोस्ट गरेका थिए भन्नेबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
पक्राउ परेका प्रजालाई थप अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्ने तयारी भइरहेको ब्युरोले जनाएको छ।