काठमाडौँ।
रौतहटको देवाही गोनाही नगरपालिकामा कृष्ण जन्माष्टमी मेला उद्घाटनका क्रममा रिबन काट्ने विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ। शनिबार भएको सो झडपमा परी नगरपालिकाका मेयर प्रेमलाल साहसहित पाँच जना घाइते भएका छन्।
देवाही गोनाही नगरपालिका–९ को धरहरीमा आयोजित मेलाको उद्घाटन कार्यक्रममा सामान्य विवादले उग्र रूप लिँदा झडपको स्थिति सिर्जना भएको हो। घटनामा गम्भीर घाइते भएका मेयर साहलाई उपचारका लागि गरुडास्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा भर्ना गरिएको छ। उनको टाउकोमा १४ वटा टाँका लगाइएको नगरप्रमुखका सहयोगी राम प्रधेश पटेलले जानकारी दिए।
झडपमा परी अन्य चार जना पनि घाइते भएका छन्। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, झडप नियन्त्रणमा खटिएका वरिष्ठ प्रहरी हवल्दार जगदीश यादव र धनसुन्दर ठाकुर तथा स्थानीय श्याम विनय साह र रामविकास साह घाइते भएका हुन्। उनीहरु सबैको सोही अस्पतालमा उपचार भइरहेको छ।
विवादले हिंसात्मक रूप लिएपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी र स्थानीय युवाहरूबीच थप धकेलाधकेल भएको थियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा देवाही गोनाही-९ धरहरीका राधामोहन साह, विनोद साह र रितिक साहलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन कार्कीले जानकारी दिए। घटनापछि उक्त क्षेत्रमा केही समय तनाव उत्पन्न भएको थियो भने हाल स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ।