काठमाडौँ ।
अछाममा कृष्ण जन्माष्टमी मेलाको तयारीका क्रममा झण्डा फहराउँदा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारमा फलामे पोलमा राखिएको झण्डा बिजुलीको तारमा ठोक्किँदा उक्त दुःखद घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनालका अनुसार, करेन्ट लागेर गम्भीर घाइते भएका मेल्लेख गाउँपालिका–७ नन्देगडाका १६ वर्षीय रोहित साउदको बयालपाटा प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार, बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीको अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिक स्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा फलामे झण्डाले बिजुलीको तारमा छुँदा उनीहरुलाई करेन्ट लागेको थियो।
दुर्घटनामा घाइते भएका बान्नीगढी जयगढ गाउँपालिका–६ का १८ वर्षीय समीर शाह, १७ वर्षीय विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका–४ का १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका–६ का १६ वर्षीय शमशेर साउदको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरी प्रमुख खनालले घाइते सबैको अवस्था सामान्य रहेको जानकारी दिनुभयो।