काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले युक्रेनमा युद्धविराम गर्ने जिम्मेवारी अब युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीको काँधमा आएको बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा भएको शिखर वार्तापछि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले आफू, पुटिन र जेलिन्स्कीबीच चाँडै त्रिपक्षीय बैठक हुने संकेत पनि गरेका छन्।
"अब यो पूरा गर्ने जिम्मा राष्ट्रपति जेलिन्स्कीको हो," ट्रम्पले भने, "हामीले जेलिन्स्की, पुटिन र मलाई समेट्ने बैठकको तयारी गर्दैछौँ।"
पुटिनसँगको वार्तालाई ‘अत्यन्त सफल’ भन्दै ट्रम्पले बैठकलाई १० मा १० अंक दिएका छन्। यद्यपि, सम्झौता शुक्रबार नै टुङ्गिन नसकेको उनले स्वीकार गरे। उनले भने, "यो अर्थमा कि हामी निकै राम्रोसँग मिल्यौँ।"
ट्रम्पका अनुसार, पुटिनसँगको वार्तामा युक्रेन युद्ध अन्त्य गर्नका लागि भूमि अदलाबदली र अमेरिकाबाट युक्रेनलाई सुरक्षा आश्वासन दिने विषयमा ‘धेरैजसो सहमति’ जुटेको छ। "हामी धेरै कुरामा सहमत भएका छौँ, बैठक न्यानो माहौलमा भयो," उनले भने। उनले पुटिनलाई एक ‘बलियो र कडा नेता’ को रूपमा चित्रण गरे।
युद्ध अन्त्यका लागि युक्रेनको सहमति अनिवार्य रहेको बताउँदै ट्रम्पले भने, "हामी युद्ध अन्त्यको धेरै नजिक छौँ, तर अन्ततः युक्रेनले यसमा सहमत हुनुपर्छ।" उनले जेलिन्स्कीलाई स्पष्ट सन्देश दिँदै भने, "सम्झौता गर्नै पर्छ।"
यसअघि रुसमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका ट्रम्प अलास्का वार्तापछि भने नरम देखिएका छन्। प्रतिबन्धबारे सोधिएको प्रश्नमा उनले भने, "आजको बैठकका कारण अहिले त्यसबारे सोच्न आवश्यक छैन। सायद दुई वा तीन हप्तामा सोच्नुपर्ला, तर अहिले होइन।"
ट्रम्पको यो अभिव्यक्तिका कारण अब युक्रेनी राष्ट्रपति जेलिन्स्कीमाथि सम्झौताका लागि थप दबाब परेको छ।