काठमाडौँ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मदिनको अवसरमा आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व भक्तिभाव र हर्षोल्लासका साथ मनाइँदैछ । यस अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ ।
सनातन धर्मावलम्बीहरूले आज भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाइरहेका छन् । विश्वभरिका हिन्दुहरूले भगवान् श्रीकृष्णलाई महत्वपूर्ण देवताको रूपमा मान्ने गर्दछन् र उहाँका उपदेशहरूलाई जीवनको मार्गदर्शनको रूपमा लिने गर्दछन् ।

शास्त्रअनुसार, आजको रातलाई चार महत्वपूर्ण रात्रिमध्ये एक, ‘मोहरात्रि’ पनि भनिन्छ । यस रातलाई आध्यात्मिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ, किनकि यसले अज्ञान, अहंकार र लोभ जस्ता नकारात्मक गुणहरूलाई हटाएर धर्म, ज्ञान र प्रेमको स्थापना भएको रातको प्रतीकका रूपमा लिइन्छ ।
यस पर्वका अवसरमा देशका अन्य कृष्ण मन्दिरहरूमा पनि बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ भने विभिन्न स्थानमा धार्मिक कार्यक्रम तथा झाँकीहरूको आयोजना गरिएको छ ।
















