काठमाडौँ।
फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इंग्लिस क्लब टोटनह्याम हट्सपरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै २०२५ को युइएफए सुपर कपको उपाधि जितेको छ। खेलको अन्तिम ५ मिनेटमा २-० ले पछि परेको स्थिति उल्टाउँदै पीएसजीले यो अविश्वसनीय जित हासिल गरेको हो। यो पीएसजीको २०२५ सिजनको पाँचौं उपाधि हो।
इटालीको उडिनेस्थित स्टाडियो फ्रिउलीमा भएको च्याम्पियन्स लिग र युरोपा लिगका विजेताबीचको प्रतिस्पर्धामा टोटनह्यामले खेलको ८५ औं मिनेटसम्म २-० को सहज अग्रता बनाएको थियो र उपाधि जित्ने लगभग पक्का देखिन्थ्यो।
तर, खेलले नाटकीय मोड लियो। ८६ औं मिनेटमा पीएसजीका लागि ली काङ–इनले गोल गर्दै गोलअन्तर २-१ मा झारे। त्यसपछि, निर्धारित समयपछिको इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले उत्कृष्ट गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए र खेललाई पेनाल्टी सुटआउटतर्फ धकेले।
पेनाल्टी सुटआउटमा पनि पीएसजी सुरुमा दबाबमा आएको थियो। पीएसजीका भिटिन्हाले पहिलो प्रहारमा चुक्दा टोटनह्यामले २-० को अग्रता लिएको थियो। तर, टोटनह्यामका मिकी भान डे भेन र माथिस टेलले आफ्नो प्रहार खेर फालेपछि पीएसजी खेलमा फर्कियो।
पीएसजीले लगातार चार पेनाल्टीमा गोल गर्यो। अन्तिम तथा निर्णायक प्रहारमा नुनो मेन्डेसले गोल गर्दै टोलीलाई अविस्मरणीय जित र उपाधि दिलाए।