काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा ठाडो हस्तक्षेप गरेको गम्भीर आरोप लगाएकी छन् । बुधबार सामाजिक सञ्जालमार्फत एक लामो स्टाटस सार्वजनिक गर्दै उनले श्रीमान रवि लामिछानेमाथि भइरहेको अन्यायविरुद्ध उच्च अदालत हुँदै अन्तर्राष्ट्रिय अदालतसम्म जाने घोषणा गरेकी हुन् ।
पौडेलले राजनीतिक शक्तिको आडमा न्यायालयको निष्पक्षतामाथि प्रहार भइरहेको दाबी गरेकी छन् । उनले लेखेकी छन्, "आम थुनुवाले पाउने अड्डासारको सुविधा मेरो श्रीमानलाई अदालतले आदेश दिए पनि गृहमन्त्रीको निर्देशनमा रोकिन्छ ।"
उनले गृहमन्त्री लेखकमाथि न्यायाधीशहरूलाई तर्साउन र दबाबमा राख्न विभिन्न हथकण्डा अपनाएको आरोप लगाएकी छन् । पौडेलका अनुसार, अदालतमा मुद्दाको पेसी चढेपछि न्यायिक परिषद्मा उजुरी हाल्ने र ती उजुरीहरू गृहमन्त्रीको कार्यकक्षमै तयार पार्ने गरिएको छ । "उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर, समाचार लिंक सबैलाई मोबाइलमा पठाउने आदेश दिनुहुन्छ, न्यायाधीश तर्साउन नाङ्गिएर लाग्नुहुन्छ," उनको स्टाटसमा उल्लेख छ ।
पौडेलले रवि लामिछानेविरुद्धका सबै मुद्दाहरू रमेश लेखक गृहमन्त्री बनेपछि मात्र सुनियोजित रूपमा अघि बढाइएको भन्दै यसलाई एक षड्यन्त्रको संज्ञा दिएकी छन् । अदालतमा बहसका क्रममा सरकारी वकिलहरूले न्यायाधीशको प्रश्नको जवाफ दिन नसक्ने तर फैसला भने सधैं लामिछानेको विपक्षमा आउने गरेको उनको गुनासो छ ।
न्याय प्रणालीमा प्रधानमन्त्री, कानुनमन्त्री र गृहमन्त्रीले समेत प्रत्यक्ष हस्तक्षेप गरी न्यायाधीशहरूलाई फोनमार्फत दबाब दिने गरेको कुरा आफूले अहिले आएर प्रत्यक्ष भोगिरहेको उनले बताएकी छन् ।
पौडेलले न्याय सम्पादनमा भइरहेको अवरोधविरुद्ध न्याय परिषद्मा उजुरी दिने चेतावनी समेत दिएकी छन् । प्रधानन्यायाधीशलाई सम्बोधन गर्दै उनले भनिन्, "कार्यकाल सकिएपछि लेखिने पुस्तकले न्याय दिँदैन, कार्यकालमै लेखिएको आदेशले दिन्छ । न्याय पाउँछु पाउँदिन थाहा छैन तर म जान्छु, अन्तर्राष्ट्रिय अदालत पनि जान्छु । न्याय नपाउन्जेल लड्छु ।"