काठमाडौँ ।
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै जिल्ला अदालत, रुपन्देहीमा निवेदन दिएका छन् ।
उनले साउन १९ गते जिल्ला अदालतमा उक्त निवेदन दर्ता गराएका हुन्। लामिछानेले आफ्नो निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ मा रहेको कानूनी व्यवस्थालाई आधार बनाएका छन्। उक्त दफामा अदालतले धरौट, जमानत वा बैंक जमानत लिएर अभियुक्तलाई तारिखमा राख्न सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार थुनामुक्त गर्न उनले माग गरेका हुन्।
लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ। यसअघि बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा जिल्ला अदालत, रुपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उच्च अदालतले जिल्ला अदालतको उक्त आदेशलाई उल्ट्याउँदै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
सहकारी प्रकरणमा मुछिएपछि लामिछाने यसअघि पनि ८४ दिन हिरासतमा बसेर रिहा भएका थिए। रिहा भएको २५ दिनपछि उनलाई पुनः पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइएको थियो।