काठमाडौँ ।
सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा प्रहरी र मदिरा तस्कर समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। भारततर्फ मदिरा तस्करी रोक्ने क्रममा भएको झडपमा प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, भारततर्फ अवैध रूपमा मदिरा तस्करी भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोली कमलपुर पुगेको थियो। सो क्रममा तस्करहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरी आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको थियो।
सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार, झडप नियन्त्रणमा लिन र आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको थियो। गोली यादवको तिघ्रामा लागेको थियो। उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको डीएसपी बस्नेतले पुष्टि गरे।
"तस्कर समूहको आक्रमण र ढुंगामुढाबाट एक जना प्रहरी जवान पनि घाइते भएका छन्," डीएसपी बस्नेतले भने।
प्रहरीले गोली चलाएपछि तस्करहरू घटनास्थलमा केही कार्टुन मदिरा छाडेर भागेका थिए। प्रहरीले उक्त मदिरा बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।