काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सोलार र ब्याट्री स्टोरेज प्रणालीले विद्युतको माग धान्न सके प्राधिकरण ठूला जलविद्युत आयोजनाको पछाडि लागिरहनु नपर्ने बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यदि सोलार र ब्याट्रीले रात र दिनको बिजुलीको माग धान्न सक्ने हो भने धेरै खर्च गरेर जलविद्युत आयोजना बनाउनुपर्ने बाध्यता हट्ने स्पष्ट पारे। हाल उद्योगहरूमा विद्युतको खपत सोचेजति नभएको उल्लेख गर्दै शाक्यले साँझ-बिहानको उच्च मागलाई सोलार र ब्याट्रीले सम्बोधन गर्न सके ऊर्जा मिश्रणमा ठूलो परिवर्तन आउने बताए।
कार्यकारी निर्देशक शाक्यले देशभरका अधिकांश पालिकाहरूले सडक बत्तीको बक्यौता रकम वर्षौंसम्म नतिरेको गुनासो गरे। "पालिकाहरूले बजेटमा बक्यौता व्यवस्थापन गर्दैनन्," उनले भने, "अब पालिकाहरू आफैँले सोलार बत्ती जडान गरेर बिजुली उत्पादन गर्नुपर्छ। त्यो बिजुली प्राधिकरणले खरिद गरिदिनेछ।"
सिँचाइ हुने क्षेत्रहरूमा विद्युत चोरीको समस्या रहेको औंल्याउँदै उनले त्यसको समाधानका लागि सोलार पम्पसँगै मिटर जडान गर्नुपर्नेमा जोड दिए। भारतको अनुभवले पनि यो सफल देखाएको भन्दै उहाँले तराई र पहाडका सिँचाइ प्रणालीमा सोलारलाई जोड्नुपर्ने धारणा राखे।
प्राधिकरणले प्रसारण लाइनमुनिको जग्गालाई सौर्य ऊर्जा उत्पादनमा प्रयोग गर्ने योजना बनाइरहेको पनि उनले खुलासा गरे। यसको पाइलट प्रोजेक्टका रूपमा खिम्तीमा काम सुरु भइसकेको उनले जानकारी दिए।