काठमाडौँ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिन डाइभर्सनको निर्माण प्रगति अत्यन्तै असन्तोषजनक रहेको बताएका छन् । भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवसहितको टोली लिएर आयोजनाको स्थलगत अनुगमन गरेपछि उनले ढिलासुस्तीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताए।
मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले आइतबार सिन्धुलीको खुर्कोटस्थित आयोजना स्थलमा पुगेर कार्यप्रगति, संरचना र बाँकी कामबारे विस्तृत जानकारी लिएको थियो। मधेश प्रदेशको सिँचाइ प्रणालीका लागि 'लाइफलाइन' मानिएको यस आयोजनाको अवस्थाबारे मुख्यमन्त्री सिंहले आयोजनाका पदाधिकारीहरूसँग छलफल गरे।

सो क्रममा आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक राज गौतमले हालसम्मको कार्यप्रगतिबारे जानकारी गराएका थिए । उनका अनुसार, आयोजनाको सुरुङ निर्माणको एक चरण सकिए पनि बाँकी दुई चरणको कामको भौतिक प्रगति जम्मा १० प्रतिशत मात्रै छ। ठेक्का सम्झौताको ५० प्रतिशत समय बितिसक्दा पनि काम सुस्त गतिमा अघि बढेकाले निर्धारित समयमा आयोजना सम्पन्न हुन नसक्ने देखिएको इन्जिनियर गौतमले स्पष्ट पारे।
अनुगमनपश्चात् मुख्यमन्त्री सिंहले मधेश प्रदेशको समृद्धिका लागि यो आयोजना 'कोशेढुंगा' साबित हुने भए पनि निर्माणको गति हेर्दा निराशाजनक अवस्था रहेको बताए। "कामको प्रगति एकदमै असन्तोषजनक छ," उहाँले भन्नुभयो, "यहाँ देखिएका समस्याहरूलाई बुँदागत रूपमा टिपेर एक रिपोर्ट तयार गर्छौं र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ज्यूलाई बुझाएर गम्भीर ध्यानाकर्षण गराउनेछौं।"
