काठमाडौँ ।
नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र मुख्यमन्त्री बहादुर सिंह लामाबीच प्रतिस्पर्धा हुने भएको हो। संसदीय दलको नेता चयनका लागि आजै मतदान हुँदैछ।
यो निर्वाचन मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि हुन लागेको हो। कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले नै लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो, जुन मंगलबार बहुमतले पारित भयो।
कांग्रेसका कुल ३७ सांसदमध्ये मंगलबारको मतदानमा मुख्यमन्त्री लामाको पक्षमा १५ मत खसेको थियो भने बानियाँको पक्षमा २२ जना सांसद उभिएका थिए। यही अंकगणितका आधारमा बानियाँ संसदीय दलको नेतामा बलियो दाबेदार देखिएका छन्।
निर्वाचन कार्यतालिका अनुसार, उम्मेदवारको प्रारम्भिक नामावली बिहान ११:३० बजे प्रकाशन गरिनेछ। नाम फिर्ता लिनका लागि मध्याह्न १२ बजेसम्मको समय तोकिएको छ। त्यसपछि अन्तिम नामावली प्रकाशन गरी मतदान प्रक्रिया अगाडि बढाइनेछ।