काठमाडौँ।
काठमाडौंको चन्द्रागिरिबाट ६ किलोग्राम अवैध लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ। मकवानपुरको थाहा नगरपालिका घर भई हाल चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरा गरी बस्ने पार्वती मगरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका–११, सतुङ्गलमा उनलाई पक्राउ गरेको हो। शंकास्पद रूपमा हिँडिरहेकी मगरलाई जाँच गर्दा उनको साथमा रहेको रातो जेब्रा झोलाभित्र १२ वटा पोकामा प्याक गरिएको उक्त परिमाणको चरेश फेला परेको थियो।
प्रवक्ता बोहराले पक्राउ परेकी मगरमाथि लागुऔषध (नियन्त्रण) ऐन अनुसार थप अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट पाँच दिनको म्याद थप गरिएको जानकारी दिए।