काठमाडौँ।
संयुक्त राज्य अमेरिकामा बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्लेको हत्या आरोपमा पक्राउ परेका उनका पति नरेश भट्टमाथिको मुद्दा एक वर्षभन्दा बढी पछि सारिएको छ। मुद्दा २०२६ अक्टोबरसम्मका लागि स्थगित भएसँगै शीघ्र न्यायको अपेक्षा गरिरहेका परिवारजन र अधिकारकर्मीहरूले ठूलो झट्का महसुस गरेका छन्। प्रिन्स विलियम काउन्टी सर्किट अदालतकी न्यायाधीश किम्बर्ली ए. इरभिङले सुरुमा प्रतिवादी पक्षको लामो स्थगनको आग्रहप्रति आश्चर्य व्यक्त गरे पनि, अभियोजन पक्षले समेत समर्थन गरेपछि मुद्दा पछि सार्ने निर्णय गरेकी हुन्। अब पूर्वनिर्धारित सेप्टेम्बर २०२५ को साटो मुख्य सुनुवाइ अक्टोबर ५, २०२६ बाट सुरु हुनेछ।
म्यानासस पार्क निवासी नरेश भट्टमाथि पहिलो दर्जाको हत्या, मृत शरीर लुकाएको र मृत शवलाई अङ्गभङ्ग गरेको जस्ता तीन संगीन अभियोग लगाइएको छ। उनी अगस्ट २०२२ देखि हिरासतमा छन्। ममताको शव भने अहिलेसम्म फेला परेको छैन, यद्यपि म्यानासस पार्क प्रहरीले ५० भन्दा बढी स्थानमा खोजी गरिसकेको छ। शुक्रबारको सुनुवाइमा अभियोजन पक्षका वकिलहरूले मुद्दाको तयारीका लागि थप समय आवश्यक परेकाले स्थगनमा सहमति जनाएका थिए।
परिवारको पीडा र समर्थकको आक्रोश
न्यायको पर्खाइमा ममताकी आमा गीता काफ्ले र दाजु महेश काफ्ले २०२४ अक्टोबरदेखि अमेरिकामा नै रहेर ममताकी शिशु छोरी नीमाको हेरचाह गरिरहेका छन्। सुनुवाइपछि ममताकी सहकर्मी तथा समर्थक होली विर्थले अभियोजन पक्षको ढिलाइप्रति गम्भीर असन्तोष व्यक्त गरिन्। "हामी अभियोजकहरू म्याथ्यु स्वीट र साराह सामीप्रति गहिरो निराशा व्यक्त गर्छौं। न्यायाधीश आफैँ पनि यति लामो स्थगनको प्रस्ताव सुनेर सहज देखिनुहुन्नथ्यो," उनले भनिन्।
अबको सुनुवाइ प्रक्रिया सात हप्ता लामो हुने अनुमान छ, जसमा प्रमाण प्रस्तुतिका लागि पाँच हप्ता र ज्यूरी चयनका लागि एक हप्ता छुट्याइएको छ। यो स्थगनले पीडित परिवारको न्यायको पर्खाइलाई थप लम्ब्याइदिएको छ।