काठमाडौँ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफ्नो महत्त्वपूर्ण कार्यक्रम, तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) तहमा विद्यार्थी भर्नाको प्रक्रियामा ठूलो परिवर्तन गरेको छ। परिषद्ले अबदेखि प्रवेश परीक्षा सञ्चालन नगरी एसईईको जीपीएलाई आधार मानेर विद्यार्थी छनोट गर्ने निर्णय गरेको हो।
परिषद्का अनुसार एसईईको ग्रेडिङ प्रणाली वैज्ञानिक र पारदर्शी भएकाले यही प्रणालीलाई आधार बनाउँदा विद्यार्थीको मूल्याङ्कन निष्पक्ष हुने विश्वास लिइएको छ। यो निर्णयसँगै देशभरका हजारौं विद्यार्थीलाई प्रवेश परीक्षा र भर्नाका लागि काठमाडौं आउनुपर्ने झन्झट र आर्थिक भारबाट मुक्ति मिलेको छ।
के छ भर्नाको नयाँ मापदण्ड?
नयाँ व्यवस्थाअनुसार, पीसीएल नर्सिङमा भर्ना हुनका लागि एसईईमा न्यूनतम जीपीए २.० प्राप्त गरेको वा पुरानो एसएलसी प्रणालीअनुसार द्वितीय श्रेणीमा उत्तीर्ण भएको हुनुपर्नेछ। विद्यार्थी छनोट प्रक्रियालाई थप न्यायोचित बनाउन सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीको प्राप्त जीपीएमा १ अंक थप गरिनेछ भने निजी (संस्थागत) विद्यालयका विद्यार्थीको जीपीएमा ०.८५ अंक मात्र थप गरी अन्तिम योग्यताक्रम निर्धारण गरिनेछ।
भर्नाका लागि छात्रवृत्ति र शुल्क तिरेर पढ्ने (पेइङ) दुवै कोटामा आवेदन दिन सकिनेछ। विद्यार्थीहरूले सीटीईभीटीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ, जसले प्रक्रियालाई सरल र पहुँचयोग्य बनाएको छ।
कति छन् सिट?
परिषद्ले देशभरका ६३ वटा कलेजलाई पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिएको छ। प्रत्येक कलेजमा ४० जनाको सिट निर्धारण गरिएको छ, जसअनुसार यस वर्ष कुल २,५२० जना विद्यार्थीले भर्ना पाउनेछन्। कुल सिटमध्ये १२० सिट भने पूर्ण छात्रवृत्तिका लागि छुट्याइएको छ। सीटीईभीटीले यो नयाँ प्रणालीले भर्ना प्रक्रियामा देखिएका विकृतिहरू हट्ने, प्रक्रिया छिटो, छरितो र पूर्ण पारदर्शी हुने विश्वास व्यक्त गरेको छ। यसले योग्य विद्यार्थीलाई सहज रूपमा अध्ययनको अवसर प्रदान गर्ने लक्ष्य राखेको परिषद्को भनाइ छ।