काठमाडौँ।
रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिकबाट प्रहरीले आज बिहान प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरी चेकजाँचबाट भाग्न खोज्दा दुर्घटनामा परेको कारबाट १३३ किलो गाँजा बरामद भएको हो भने चालक फरार भएका छन्।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, चन्द्रनिगाहपुरबाट सदरमुकाम गौरतर्फ जाँदै गरेको रातो रङको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारमा प्रतिबन्धित लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले चेकिङ कडा पारेको थियो।

चेकजाँचका क्रममा प्रहरी टोलीले रोक्न खोज्दा कार चालकले गाडी नरोकी तीव्र गतिमा हुइँक्याएर भागेका थिए। प्रहरीले पिछा गर्दै जाँदा चालकले गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिक गाडीलाई करिब २० फिट गहिरो झाडीमा छाडेर फरार भएका हुन्।
गरुडाका डीएसपी राजन कार्कीले क्रेनको सहायताले गाडीलाई बाहिर निकालेर खानतलासी गर्दा १३ वटा पोकामा प्याक गरिएको १३३ किलो गाँजा फेला परेको जानकारी दिए।
उनका अनुसार, चालक फरार भए पनि गाडीभित्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) र गाडीका अन्य कागजातहरू फेला परेका छन्। सोही प्रमाणका आधारमा फरार व्यक्तिको पहिचान गरी खोजी कार्य तीव्र पारिएको डीएसपी कार्कीले बताए।
