काठमाडौँ ।
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको उपाधिका लागि नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । यो खेलले नै प्रतियोगिताको विजेता टुङ्गो लगाउने भएकाले यसलाई फाइनल सरह मानिएको छ ।
खेल बङ्गलादेशको बसुन्धरा स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार बेलुकी पौने ७ बजे सुरु हुनेछ ।
डबल राउन्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगिताको उपाधि जित्न नेपाललाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ । घरेलु टोली बङ्गलादेशलाई भने उपाधि उचाल्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ । हाल अङ्क तालिकामा बङ्गलादेश पाँच खेलबाट १५ अङ्कसहित शीर्ष स्थानमा छ भने समान खेल खेलेको नेपाल १२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा नेपालले भुटान र श्रीलंकालाई दुई–दुई पटक पराजित गरेको थियो । तर, यसअघि भएको पहिलो भेटमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भुटान र श्रीलङ्का गरी चार राष्ट्रको सहभागिता रहेको छ ।