काठमाडौँ।
सिरहाको सुखीपुर नगरपालिका-४, पोखरियास्थित एक घरमा लुकाइराखिएको अवस्थामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले ७१७.६ किलोग्राम गाँजा बरामद गरेको हो भने घरधनी फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार, गोप्य सूचनाको आधारमा बिहीबार, साउन २ गते बिहान ६ बजे प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पोखरिया निवासी करिब ६० वर्षीय मेदी यादवको घरमा छापा मारेको थियो। प्रहरी चौकी सिलौर्वा पछवारीका प्रमुख प्रहरी सहायक निरीक्षक नन्दु राउत र सशस्त्र प्रहरी बल बेसक्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार यादवको नेतृत्वमा खटिएको टोलीले सुरुमा घरभित्रबाट २६ वटा पोकामा प्याक गरिएको गाँजा फेला पारेको थियो।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सिरहाबाट प्रहरी निरीक्षक राज यादवको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेको थियो। अनुसन्धानकै क्रममा शुक्रबार बिहान थप एक पोका गाँजा फेला परेपछि बरामद गाँजाको कुल संख्या २७ पोका पुगेको हो।
प्रहरीले बरामद गरिएको गाँजाको कुल तौल ७१७.६ किलोग्राम रहेको पुष्टि गरेको छ। घरधनी मेदी यादव हाल फरार रहेका र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सिरहामा राखिएको छ।