काठमाडौँ।
बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार एक राजनीतिक र्यालीका क्रममा हिंसा भड्किँदा प्रहरीले चलाएको गोली लागेर कम्तीमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । यो घटना पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्लामा भएको हो ।
बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूले आयोजना गरेको र्यालीका क्रममा सत्तारुढ अवामी लीगका समर्थक र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीहरूले प्रहरी र स्थानीय प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गर्नुका साथै एनसीपीको जुलुसमाथि पनि आक्रमण गरेका थिए ।
भिडलाई नियन्त्रणमा लिन सुरक्षाबलले गोली चलाएको थियो । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो । हिंसामा मारिएका मध्ये तीन जनाको पहिचान दीप्टो साहा, रमजान काजी र सोहेल मोल्लाका रूपमा भएको छ । चिकित्सकहरूका अनुसार उनीहरूलाई गम्भीर घाइते अवस्थामा गोपालगञ्ज जनरल अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।
हिंसात्मक घटनाका बाबजुद पनि एनसीपीले आफ्नो र्याली सम्पन्न गरेको छ । नेताहरूले क्षतिग्रस्त मञ्च र बिग्रिएको साउन्ड सिस्टमबाटै आफ्ना कार्यकर्ताहरूलाई सम्बोधन गरेका थिए ।