काठमाडौँ ।
सरकारले साउन महिनालाई ‘डेंगी सचेतना महिना’ का रूपमा मनाउने घोषणा गरेको छ। लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले जनचेतना फैलाउन सरकारले यो अभियान सञ्चालन गर्न लागेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिक डेंगीबाट संक्रमित हुनसक्ने अनुमानसमेत गरेको छ। मनसुन सक्रिय भएसँगै डेंगी फैलाउने लामखुट्टेको वृद्धि हुने भएकाले समयमै रोकथामका उपाय अपनाउन सचेतना अभियान सुरु गरिएको हो।
मन्त्रालयका अनुसार, यो अभियान देशभरका स्थानीय तहहरूसँगको सहकार्यमा सञ्चालन गरिनेछ। पालिकास्तरमा डेंगी नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइनेछ।
सरकारले नागरिकहरूलाई आफ्नो घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन, लामखुट्टेको टोकाइबाट बच्न र डेंगीका लक्षण देखिए तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।