काठमाडौँ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकारले जनताले 'आहा' भन्ने खालको काम गर्न नसके पनि कुनै गलत काम नगरेको दाबी गरेका छन्। उनले सरकार राम्रो काम गर्ने प्रयत्नमा निरन्तर लागिरहेको बताए।
नेकपा एमाले रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको 'राजनीतिक तथा सांगठनिक क्षमता अभिवृद्धि' कार्यशालामा बोल्दै मन्त्री गुरुङले संयुक्त सरकार भएकाले यसका आफ्नै सीमा र बाध्यताहरू रहेको स्पष्ट पारे। "सरकारले आहा भन्ने काम गर्न सकेको छैन, तर गलत काम पनि गरेको छैन," उनले भने, "एकलौटी सरकार जसरी आफ्ना नीति र कार्यक्रम लागू गर्न नसकिने बाध्यता बुझिदिन आग्रह गर्दछु।" उनले खड्गप्रसाद शर्मा ओली नेतृत्वको वर्तमान सरकारले धेरै गर्न नसके पनि देश र व्यवस्थालाई बचाउने तथा राष्ट्रिय स्वाभिमानलाई नझुकाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उनले पार्टीभित्रको नेतृत्व बहसको विषयमा समेत बोलेका थिए। गुरुङले अहिले पार्टी नेतृत्वबारे छलफल गर्ने समय नभएको र बाह्य आक्रमण भइरहेको बेला यस्ता बहसमा अलमलिन नहुने बताए।
पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यस्ता बेमौसमी बहसले त्यस्ता शक्तिलाई मात्रै फाइदा पुग्ने धारणा राखे।
नेता बन्न रहरले मात्रै नहुने भन्दै उनले पार्टीभित्र नातावाद र कृपावादको अन्त्य हुनुपर्नेमा जोड दिए। "कसैले टिको लगाइदिँदैमा कोही नेतृत्वमा पुग्दैन," गुरुङले भने, "दायाँबायाँ, नातावाद, कृपावादले समाजवादको लक्ष्यमा पुग्न सकिँदैन। यो हाम्रो अभ्यासमा कमी भएकोमा मेरो आत्मालोचना हो।"