काठमाडौँ ।
निजामती विधेयकमा कर्मचारीको अवकाशपछिको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा किर्ते भएको भन्दै विवाद चर्किएपछि विभिन्न दलका सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन्।
समितिले सहमति गरेको २ वर्षे कुलिङ पिरियडको प्रावधानमा उच्चपदस्थ कर्मचारीलाई छुट दिने गरी ‘बाहेक’ शब्द थपिएको भन्दै सांसदहरूले आपत्ति जनाएका हुन्। नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका सांसदहरूले सभापतिको संलग्नताविना यस्तो गम्भीर त्रुटि हुन नसक्ने भन्दै छानबिन र राजीनामाको माग गरेका हुन्।
विवादकै कारण समितिको बैठक बस्न सकेको छैन भने सभापति खतिवडाले सभामुख देवराज घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका छन्। चौतर्फी विरोधपछि विधेयकमा भएको हेरफेरको विषय छानबिनको दायरामा परेको छ।