काठमाडौँ ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ग्रेड प्राप्त गरेका सबै विद्यार्थीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई बधाई तथा ग्रेड प्राप्त गर्न नसक्नेलाई सान्त्वना दिएका छन्।
प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा यस वर्ष ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशत बढेकोमा खुसी व्यक्त गरे।
“यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ। गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी नन-ग्रेडेड रहनु परेको थियो,” उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ।”
एसईईमा सफलता नपाएका विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै प्रधानमन्त्रीले भविष्यमा सफलताको अवसर आउने बताए।
“ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ,” उनले लेखेका छन् ।