काठमाडौँ ।
बागमती प्रदेश सभाको बैठक आज (बिहीबार) बस्दैछ। बिहान ११ बजे सुरु हुने बैठकमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ।
प्रदेश सभा सचिवालय, हेटौंडाका अनुसार बैठकमा सांसदहरूले बजेटका विभिन्न पक्षमाथि आ-आफ्नो धारणा राख्नेछन्। प्रदेश सरकारले गत असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको थियो।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको हो। बजेटमा चालुतर्फ २६ अर्ब ४४ करोड रुपैयाँ, अर्थात् कुल बजेटको ३८.६ प्रतिशत, र पुँजीगततर्फ ४१ अर्ब ०३ करोड रुपैयाँ, अर्थात् ६१.४ प्रतिशत, विनियोजन गरिएको छ।
सांसदहरूले बजेटमाथि धारणा राखिसकेपछि विषयगत समितिमा छलफल भई पारित गर्ने प्रक्रिया अगाडि बढ्नेछ।