काठमाडौँ।
कैलालीको लम्की चुँहा नगरपालिकामा एक जना ८० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन्। लम्की चुँहा नगरपालिका–१ निवासी नयाँराम जैशी बुधबार साँझ आफ्नै भान्जाको आँगनमा मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले दिएको जानकारी अनुसार, जैशी आफ्ना भान्जा नाता पर्ने ५५ वर्षीय बर्मा भण्डारीको आँगनमा लडेको अवस्थामा मृत फेला परेका थिए। बुधबार साँझ करिब ५:३० बजेतिर घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो।
प्रहरीका अनुसार मृतकको शरीरमा तत्काल कुनै बाहिरी चोटपटक देखिएको छैन। यद्यपि, मृतक जैशी र उनका भान्जा भण्डारीबीच आर्थिक लेनदेनको विषयमा विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यही विवादका कारण घटना भएको हुनसक्ने आशंकामा प्रहरीले भण्डारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय लम्कीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको डीएसपी सिंहले बताए।
मृतकका छोरा काठमाडौंबाट आइरहेकाले शव घटनास्थलबाट उठाइएको छैन। छोरा आएपछि र कानुनी प्रक्रिया पूरा गरेपछि मात्र शव पोस्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ।
घटनास्थललाई प्रहरीले सुरक्षित राखेको छ र घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।