एसीसी पुरुष यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सानदार जितका साथ सुरुवात गरेको छ। एसिसि मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ ।
मलेसियामा आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको हो।
सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा प्रसिद्ध जैसीले अविजित रहँदै सर्वाधिक ५५ रनको अर्धशतकीय पारी खेले। उनलाई रौनक श्रीवास्तवले ४० रन बनाएर बलियो साथ दिए। अन्त्यमा शुभम खनाल ९ रनमा अविजित रहे। यसअघि ओपनर सुर्यांशु कोइराला ९ रन बनाएको अवस्थामा रिटायर्ड हर्ट भएका थिए। सिंगापुरका लागि आकाश तेजाले ३ विकेट लिए।
त्यसअघि, मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुर ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो। सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए भने ओपनर आहान भुधानभामले ३८ रन जोडे।
सिंगापुरलाई सस्तोमा समेट्ने क्रममा नेपालका कप्तान विपिन शर्माले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। त्यसैगरी, सचिन भट्टले तीन विकेट हात पारे भने शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए।
एसियाली क्रिकेट परिषद् (एसिसी) द्वारा आयोजित यस प्रतियोगितामा १० टोली सहभागी छन्। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ सिंगापुर, इन्डोनेसिया, भुटान र जापान पनि छन्। समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका छन्।हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल ५ जुलाई (असार २१) मा फाइनल हुनेछ ।